
बैंकिङ खबर/ पाकिस्तानको हबिब बैंकले आफ्नो सेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बिक्री गर्ने सम्झौता गरेको छ । दुवै पक्षबीच सेयर खरिद–बिक्री सम्झौतापत्र (एसपीए)मा हस्ताक्षर भएको हो ।
नेसनल लाइफले यसअघि नै नेपाल बीमा प्राधिकरणबाट सेयर खरिदको स्वीकृति लिएर बोलकबोलमा दाबी गरेको थियो । सोही दाबी योग्य ठहरिएपछि सम्झौता भएको हो । सम्झौतापछि हबिबले नेपाल राष्ट्र बैंकलाई स्वीकृतिका लागि औपचारिक पत्र पठाउन हिमालयन बैंकलाई आग्रह गरेको छ ।
हबिबले बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाखभन्दा बढी कित्ता सेयर बिक्री गर्न लागेको हो । प्रति कित्ता ११२.८० रुपैयाँका दरमा बिक्रीमा राखिएको सेयर नेसनलले ११८.८ रुपैयाँका दरमा खरिद गर्ने प्रस्ताव पेस गरेको थियो।
यसअघि हबिबले सात वर्षअघि नै सेयर बेच्ने प्रयास गरे पनि विभिन्न कारणले सफल हुन सकेको थिएन। पछिल्लो समय हिमालयन रिलाई बिक्री गर्ने तयारी भए पनि सार्वजनिक आह्वानपछि नेसनल लाइफ प्रवेश गरेको हो।
यससँगै विवादास्पद व्यवसायी दीपक भट्ट नेतृत्वको समूहले गरेको ‘प्रिपेड’ योजनालाई चुनौती दिँदै नेसनलले बढी मूल्य तिरेर सेयर खरिद गर्न सफल भएको छ।
