२०८२ श्रावण ३० गते

काठमाडौंमा ६ करोड बढीको क्रिप्टो कारोबार गर्ने चारजना पक्राउ

बैंकिङ खबर/ काठमाडौं प्रहरीले ६ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबार गर्ने चारजना कारोवारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, उनीहरूबाट १५ लाख ३३ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा भारतका दुई नागरिक ३३ वर्षीय विक्रम जयसवाल (सीतामडी, बैरगनी) र ३३ वर्षीय मुन्ना जयसवाल (मोतिहारी, चिरहिया)छन् । उनीहरू काठमाडौं महानगरपालिका–५, कालोपुलमा बस्दै आएका थिए।

साथै, बारा महागढीमाई–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल र २५ वर्षीय मनमोहनकुमार सिंह पनि पक्राउ परेका छन्। उनीहरूको मोबाइल जाँच गर्दा ६ करोड ६ लाख ६३ हजार ६ सय ८७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको छ।

प्रवक्ता बोहोरा अनुसार, प्रहरीलाई केही दिनअघि नै कालोपुलमा क्रिप्टो कारोबार भइरहेको सूचना प्राप्त भएको थियो। प्रहरी घटनास्थल पुग्दा हुण्डि रकम फेला परेको थियो।