
बैंकिङ खबर/ प्राइम बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँको तुलनामा १४.७२ प्रतिशतले बढी हो।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत पुगेको छ।
खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले वृद्धि भई ८ अर्ब ८२ करोड २४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ७ अर्ब ८८ करोड २७ लाख रुपैयाँ थियो। सञ्चालन नाफा पनि अघिल्लो वर्षको ५ अर्ब ३१ करोड २९ लाख रुपैयाँबाट बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
तर, बैंकको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १९.४५ रुपैयाँबाट बढेर २०.७४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ रहेको छ।



