
बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्म उल्लेखनीय नाफा वृद्धि हासिल गरेको छ । बैंकले असार मसान्तसम्म ९६५.४१ प्रतिशतको वृद्धिसहित ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम ५१ करोड ८ लाख रुपैयाँ मात्र थियो।
आम्दानीमा गिरावट
नाफा उच्च भए पनि आम्दानीतर्फ भने बैंकको प्रदर्शन कमजोर देखिएको छ। अघिल्लो वर्ष ११ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष ३९.४७ प्रतिशतको गिरावटसहित ७ अर्ब १९ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ।
त्यस्तै, कुल आम्दानी पनि अघिल्लो वर्षको १४ अर्ब ५३ करोड रुपैयाँबाट २७.२८ प्रतिशतले घटेर १० अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।
सञ्चालन नाफामा दोब्बर वृद्धि
आम्दानी घटे पनि बैंकको सञ्चालन नाफा भने झिनो मात्र नभई दोब्बर वृद्धि भएको छ। अघिल्लो वर्ष ३ अर्ब १५ करोड रुपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष बढेर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानीमा उछाल
नाफामा भएको तीव्र वृद्धिले बैंकको प्रतिशेयर आम्दानीमा ठूलो उछाल आएको छ। अघिल्लो वर्ष २ रुपैयाँ १७ पैसा मात्र रहेको भ्एक् गत वर्ष २३ रुपैयाँ १२ पैसामा पुगेको छ। प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ कायम छ भने खराब कर्जा अनुपात ४.९६ प्रतिशतमै स्थिर रहेको छ।
पूँजी र रिजर्भ कोष
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ। रिजर्भ कोषमा १३ अर्ब ५५ करोड रुपैयाँ संचित छ। गत वर्षको अन्त्यसम्म ३ अर्ब २ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा अब १ अर्ब ४ करोड रुपैयाँ धनात्मक भएको छ।
कर्जा प्रवाह र निक्षेप संकलन
बैंकले असार मसान्तसम्ममा २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। सोही अवधिमा निक्षेप संकलन ३ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जसले प्रभु बैंकको बजार उपस्थिति अझ बलियो बनाएको छ।



