२०८२ श्रावण २७ गते

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

बैंकिङ खबर/भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाँच जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारतमा निर्यात गर्न अनुमति मिलेको हो।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातको अनुमति दिएको थियो। यस नयाँ सहमतिसँगै नेपालबाट कुल १०११ मेगावाट विद्युत निर्यात हुने बाटो खुलेको छ।

नेपालले बंगलादेशलाई पनि ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ भने यसले कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुर्‍याएको छ। थप अनुमति प्राप्त २०० मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म लागू रहने प्राधिकरणले जनाएको छ।

यो विद्युत लिखु-२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित हुनेछ।

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतलाई विद्युत निर्यातबाट १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणका अनुसार भारतबाट थप अनुमति पाएसँगै यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अपेक्षा गरिएको छ।