२०८२ श्रावण २७ गते

हिमालयन बैंकको नाफा २२ प्रतिशतले वृद्धि

बैंकिङ खबर/हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा वर्षमा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.१५ प्रतिशतले बढी हो। गत वर्ष बैंकको नाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ थियो। बैंकको ब्याज आम्दानी भने ९.९९ प्रतिशतले घट्दै १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको वितरणयोग्य मुनाफा अहिलेसमेत ऋणात्मक छ। यो वर्ष रिटेन्ड अर्निङ ७ अर्ब १० करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जबकि अघिल्लो वर्ष यो रकम ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँ ऋणात्मक थियो। बैंकको रिजर्भमा भने २३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष निक्षेप २ खर्ब ९३ अर्ब ८९ करोड र कर्जा २ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ थियो।

खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.२८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.९८ प्रतिशत थियो। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६.९८ रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष यो ५.७२ रुपैयाँ मात्र थियो। बैंकको पीई रेसियो ३३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ रहेको छ।