Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड, लाभांश क्षमता ३८ प्रतिशत

२०८२ श्रावण २६ गते

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यससँगै बैंकको लाभांश दिने क्षमता ३८.२७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको २८.०६ प्रतिशतभन्दा २६.६७ प्रतिशतले वृद्धि हो।

बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको ३ अर्ब ७० करोड रुपैयाँबाट बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जसमा ३२.८० प्रतिशतको वृद्धि भएको हो। प्रतिसेयर आम्दानी पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँमा पुगेको छ।

सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकले निस्क्रिय कर्जा घटाउँदै अघिल्लो वर्षको ०.७१ प्रतिशतबाट घटाएर ०.३८ प्रतिशतमा ल्याएको छ।

रिटर्न अन इक्विटी १३.९३ प्रतिशतबाट बढेर १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३६.२८ रुपैयाँबाट बढेर २४७.३९ रुपैयाँ भएको छ। समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड र कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

कस्ट अफ फण्ड ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा र आधार दर ८.१३ प्रतिशतबाट घटेर ५.२७ प्रतिशतमा आइपुगेको छ। समीक्षा अवधिमा बैंकको तरलता अनुपात ३८.९४ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत र पीई अनुपात १८.४७ गुणा रहेको छ।