
बैंकिङ खबर/ व्यवसाय तथा आम्दानीमा उल्लेख्य वृद्धि भए पनि सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन बढेसँगै सिटिजन्स बैंकको मुनाफा घटेको छ। नाफा घटेपनि विगतको बक्यौता ब्याज उठेर नियामकीय जगेडाबाट सञ्चित नाफामा ट्रान्सफर हुँदा बैंकको लाभांश क्षमतामा भने सुधार भएको छ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.०७ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकको मुनाफा १ अर्ब ३२ करोड ७ लाख थियो।
खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ५० लाख पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी १९.७४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ७१ लाख पुगेको छ। ट्रेडिङ आम्दानी पनि ३० करोड २७ लाखमा पुगेको छ। यससँगै कुल सञ्चालन आम्दानी ८ अर्ब १२ करोड ४४ लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशत बढी हो।
तर, सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन करिब १ अर्बले बढेर २ अर्ब ६७ करोड ६२ लाख पुगेपछि र सञ्चालन खर्च बढ्दा सञ्चालन नाफा घटेर २ अर्ब १० लाखमा झरेको छ।
नाफा घटेसँगै प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३० पैसाबाट घटेर ८ रुपैयाँ ७६ पैसा पुगेको छ। यद्यपि, विगतमा उठ्न नसकेको ब्याज उठाएर २३ करोड ७३ लाख नियामकीय जगेडाबाट सञ्चित नाफामा ट्रान्सफर गरेपछि वितरणयोग्य नाफा ५८ करोड ८० लाखबाट बढेर ७६ करोड पुगेको छ।
१४ अर्ब ७६ करोड ९० लाख चुक्तापुँजी रहेको बैंकको लाभांश क्षमता ४.३२ प्रतिशतबाट बढेर ५.२५ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा, कुल पुँजीकोष अनुपात १२.४५ प्रतिशत र निष्क्रिय कर्जा अनुपात ४.९४ प्रतिशत रहेको छ।
