
बैंकिङ खबर/ कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा उल्लेख्य वृद्धि भएको जनाएको छ। बैंकले समीक्षा वर्षमा ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँभन्दा ४३.३८ प्रतिशतले बढी हो। वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ रहेको बैंकले १८.४२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४१.२७ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। तर ब्याज आम्दानी भने ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ।
चुक्तापुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ऋणात्मक २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ र रिजर्भ १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.२६ प्रतिशतमा झरेको छ, अघिल्लो वर्ष यो ३.९१ प्रतिशत थियो।
वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २७.६३ रुपैयाँ पुगेको छ भने पीई रेसियो ११.८४ गुणा र प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ रहेको छ।
