Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

क्रिप्टो कारोबारमा संलग्न युवक काठमाडौंबाट पक्राउ

२०८२ श्रावण १९ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ नेपालमा अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टो करेंसी) कारोबार गरिरहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। काठमाडौंको कलंकीस्थित क्षेत्रबाट प्रहरीले मकवानपुरका २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सुशान्त दाहालले USDT, BTC, ETH र BNB जस्ता क्रिप्टो करेंसी प्रयोग गरी नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३ सय ८८ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनलाई मिति २०८२ साउन १७ गते साँझ ६ बजे पक्राउ गरिएको हो।

दाहालको स्थायी ठेगाना हेटौंडा उपमहानगरपालिका–१६, चिसापानी भए पनि उनी हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, कौशलटारमा बस्दै आएका थिए।

प्रहरीका अनुसार, क्रिप्टो कारोबारसम्बन्धी सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दाहाललाई पक्राउ गरी उनलाई “अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूर” अन्तर्गत अनुसन्धान गरिरहेको छ।

बरामद सामग्रीहरू:

  • मोबाइल फोन १ थान

  • सिम कार्ड २ थान

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुलदिप चन्दका अनुसार, घटनाको थप अनुसन्धान जारी छ। नेपालमा क्रिप्टो करेंसी प्रयोग तथा कारोबार गैरकानुनी मानिने भएकाले यसप्रकारका गतिविधिहरूमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिने प्रहरीको चेतावनी छ।