२०८२ श्रावण १४ गते

‘विकासशील देशमा स्तरोन्नति भएसँगै आर्थिक सुधारका संकेतहरू देखिन थालेका छन्’

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा नेपालको अति कम विकसित देश (LDC) बाट विकासशील देशमा स्तरोन्नतिका लागि देखिएको सफलतालाई औंल्याउँदै आर्थिक सुधारका सकारात्मक संकेतहरू देखिन थालेको बताएका छन्।

उनले  भने,’सन् १९७१ मा संयुक्त राष्ट्रसंघले नेपाललाई अति कम विकसित देशको सूचीमा राखेको थियो भने ५५ वर्षपछि नेपाल ४५ देशको समूहमा समेटेर अर्को वर्ष विकासशील देशको रूपमा स्तरोन्नतिमा प्रवेश गर्दैछ।’ प्रधानमन्त्री ओलीले यो नेपालको अन्तर्राष्ट्रिय छविमा सकारात्मक प्रभाव पार्ने तथा आत्मनिर्भरता तर्फको महत्त्वपूर्ण संकेत भएको बताए।

नेपालले विगतका आवधिक योजना र बजेटमार्फत यो लक्ष्यतर्फ काम गर्दै आएको उनले उल्लेख गर्नुभयो। “मानव सम्पत्ति सूचकांक, आर्थिक र वातावरणीय जोखिम सूचकांकमा नेपालले प्रगति गरेको छ,” उनले भने । यद्यपि, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूले प्रगतिको गति कमजोर पार्न सक्ने सम्भावना रहेको समेत उनले औँल्याए ।

सरकारले स्तरोन्नतिलाई दिगो बनाउने उद्देश्यले कानुन संशोधन, वैदेशिक सम्बन्ध सुदृढीकरण, द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई बलियो बनाउन कार्यरत रहेको जानकारी समेत प्रधानमन्त्री ओलीले दिए । पूर्वाधार विकास, निजी क्षेत्रमा लगानी बढाउने, श्रम र रोजगार सुधार गर्ने विषयमा पनि सरकारले रणनीति तयार गरेको उनले जनाए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाका विकास, आर्थिक मामिला तथा सुशासन समितिको योगदानलाई पनि उच्च मूल्याङ्कन गर्दै समितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । नेपालको स्तरोन्नति पछिको योजनाहरू सामाजिक न्याय, सुशासन र समृद्धिका लक्ष्यअनुसार तयार गरिएको र यसलाई सफल बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीको यो सम्बोधनले नेपालको दीर्घकालीन आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय प्रतिष्ठामा नयाँ युगको शुरुवात भएको संकेत गरेको छ।