
बैंकिङ खबर/ अवैध रूपमा विदेशी मुद्रा सटही कारोबारमा संलग्न भएको आरोपमा तीन जना पोखराबाट पक्राउ परेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले पोखरा–१७, पार्दी बिरौटाबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर–१३ का ४५ वर्षीय महुमुद्दिन एम. अहमद, पोखरा–६ बैदाममा बसोबास गर्ने झापा दमक–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय युरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार महुमुद्दिनले रूपन्देही र कास्कीमा रेस्टुरेन्ट सञ्चालन गर्दै नेपाली रुपैयाँसँग विदेशी मुद्रा सटही गर्ने कार्य गर्दै आएका थिए। राजकुमारले लेकसाइड सेन्टर प्वाइन्टमा “हिलारी मनी एक्सचेन्ज” नामक व्यवसायमार्फत विगत २० वर्षदेखि, खेमराजले लेकसाइडको स्ट्रिट नम्बर १४ मा “सगरमाथा मनी एक्सचेन्ज” सञ्चालन गर्दै विगत १४ वर्षदेखि विदेशी मुद्रा सटही गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
तीनै जना विरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




