
बैंकिङ खबर/ सरकारी कार्यालय तथा बैंकका छाप र प्रमाणपत्र किर्ते गर्ने कार्यमा संलग्न एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं महानगरपालिका–१० बसोबास गर्दै आएका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो। उनी झापा, धरमपुर स्थायी बासिन्दा हुन्।
विशेष सूचनाका आधारमा महाराजगञ्ज चोक नजिकबाट पक्राउ गरिएका खड्काको डेरा कोठामा तलासी गर्दा ठूलो संख्यामा नक्कली कागजात र किर्ते कार्यमा प्रयोग हुने सामग्रीहरू फेला परेको ब्यूरोले जनाएको छ।
बरामद सामग्रीहरूमा समावेश छन्:
-TU, CTEVT, HSEB, NEB लगायत शैक्षिक संस्थाहरूका होलोग्राम स्टिकर
-विभिन्न सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्थाहरूका रबर स्ट्याम्प
-शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट, नक्कली लेटरप्याड
-प्रिन्टर (२ थान), स्क्यानर (१ थान), रबर स्ट्याम्प मेसिन (१ थान), CPU, मोबाइल
खड्काले विगत दुई वर्षदेखि आफ्नै निजी पसलबाट मालपोत, नापी, वडा, नगरपालिका, कर कार्यालय, प्रहरी, अदालत लगायतका कार्यालयहरूको नक्कली छाप तथा प्रमाणपत्र बनाउने गरेका थिए। त्यस्तै, शैक्षिक संस्थाहरूका नक्कली प्रमाणपत्र समेत तयार पार्ने गरेको खुलेको छ। उनले WhatsApp र Viber जस्ता सामाजिक सञ्जाल प्रयोग गरी अर्डर लिएर सामग्री बनाउने गरेका थिए।
उनविरुद्ध लिखतसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको छ। ब्यूरोले यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन र त्यस्ता गतिविधिबारे थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान ब्यूरोलाई जानकारी गराउन सबैलाई अनुरोध गरेको छ।




