Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका शिक्षकको परिवारलाई बीमा रकम हस्तान्तरण

२०८२ असार ३१ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा ज्यान गुमाएका मकवानपुरका शिक्षक स्व. रघुनन्दन यादवको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकको पालुङ शाखामा तलब खाता भएका यादवको निधनपछि बैंकले बीमा वापत पाँच लाख रुपैयाँको चेक मृतककी श्रीमती अमिरा कुमारी यादवलाई प्रदान गरेको हो।

मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयका शिक्षक रहेका यादवको २०८२ साल जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा मृत्यु भएको थियो। नेपाल बैंकको कर्मचारी तलब खाता योजनाअन्तर्गत खाता खोलेको एक वर्षभित्र दुर्घटनावश मृत्यु भएमा पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिन्छ।

बैंकले असार २२ गते आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सीईओ पाण्डेयले बैंकले ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैं प्राथमिकतामा राख्ने बताए। “भविष्यमा पनि नेपाल बैंकले सरल, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता लिएको छ,” उनले भने।

श्रीमती अमिरा कुमारी यादवले बिना झन्झट सहज रूपमा बीमा रकम पाएकोमा नेपाल बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले परिवारको जीवनयापनमा राहत पुगेको बताइन्। नेपाल बैंकले देशभर आफ्ना ग्राहकलाई विश्वासिलो सेवा, वित्तीय सुरक्षा र सहज पहुँच उपलब्ध गराउँदै आएको छ।