Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंककी संचालक इला शर्माको निधन

admin २०८२ असार २८ गते
सेयर:

बैंकिङ खबर/सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकी संचालक इला शर्माको शनिबार साँझ हृदयघातका कारण निधन भएको छ। उनी करिब ६० वर्षकी थिइन्। अचानक हृदयघात भएपछि शर्मालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनलाई अस्पतालमै मृत घोषणा गरेका हुन्।

शर्माको पार्थिव शरीर हाल नर्भिक अस्पतालमै राखिएको छ। पारिवारिक स्रोतका अनुसार, आइतबार बिहान ९ देखि १० बजेसम्म उनको पार्थिव शरीर कुपण्डोलस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ। हाल दिल्लीमा रहेकी उनकी छोरी आइपुगिसकेपछि दिउँसो अन्त्येष्टि गरिने जानकारी प्राप्त भएको छ।

शर्माले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारमा एलएलएम, र युकेको युनिभर्सिटी अफ हलबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययनमा एलएलएम गरेकी थिइन्। उनी निर्वाचन आयोगकी पूर्व आयुक्त समेत रहेकी थिइन्। उनले निर्वाचन कानुन र नियमावलीको मस्यौदा तयार गर्ने उच्चस्तरीय समितिको नेतृत्व गरेकी थिइन्। इला शर्माले कानुन, मिडिया, शिक्षा, मानव अधिकार, व्यापार, वातावरण र निर्वाचन प्रणाली सुधार जस्ता क्षेत्रमा ३ दशकभन्दा बढी समय समर्पण गरेकी थिइन्।

काठमाडौं विश्वविद्यालय र ओस्लो विश्वविद्यालयको सहकार्यमा सञ्चालित निर्वाचनसम्बन्धी एकेडेमिक कोर्स डिजाइन र अध्यापनमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। शर्माले यूएनडीपी परियोजना, उद्योग मन्त्रालयको परामर्शदाता, र संयुक्त राष्ट्रसंघका विभिन्न कार्ययोजनामा सहभागिता जनाएकी थिइन्। त्यस्तै, फुड फर्स्ट इन्फर्मेसन एन्ड एक्सन नेटवर्क (फियाने) नेपालकी संस्थापक उपाध्यक्ष, साउथ एसियन वुमन इन मिडिया र साउथ एशिया वाच जस्ता संस्थामा पनि उनको सक्रिय भूमिका थियो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।