२०८२ असार २६ गते

पैसा बैंक तथा वित्तीय संस्थामा राखौं, आगलागीमा क्षति हुन सक्छ

बैंकिङ खबर/ पछिल्लो समय विभिन्न स्थानमा आगलागीका घटनाहरू बढिरहेका छन्। यस्ता घटनामा नगद, धनमाल र कागजातहरू जलेर नष्ट हुने जोखिम उच्च हुन्छ। त्यसैले, नगद रकम घरमा राख्नुको साटो बैंक तथा वित्तीय संस्थामा राख्दा बढी सुरक्षित हुने विज्ञहरूको सुझाव छ।

विशेषगरी ग्रामीण क्षेत्रका धेरै मानिसहरूले आफ्नो कमाइ नगदकै रूपमा घरमा राख्ने प्रचलन अझै पनि कायमै रहेको पाइन्छ। तर आगलागी, चोरी वा अन्य विपद्का बेला यस्ता रकम तत्कालै नष्ट हुने सम्भावना रहन्छ।

सुरक्षित निक्षेप, सजिलो कारोबार र आपतकालीन अवस्थामा पनि सहज पहुँच हुने सुविधा भएका कारण बैंक तथा वित्तीय संस्थामा रकम राख्नु बुद्धिमानीपूर्ण विकल्प हुने विज्ञहरूको भनाइ छ।

यसैबीच प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारा निवासी याम बहादुर पुन मगरको घरगोठमा आगलागीले उनको धनमालसहित संकलन गरेको नगद समेत जलेर नष्ट भएको छ। बुधबार राति अचानक आगलागी हुँदा घरमै राखिएको नगद पैसा पूर्ण रूपमा जलेको स्थानीयहरूले जनाएका छन्।