Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

किराना पसलको आडमा हुण्डी र क्रिप्टो कारोबार

२०८२ असार २४ गते


बैंकिङ खबर/ नेपालमा गैरकानुनी रूपमा १ अर्ब ५० करोडभन्दा बढीको क्रिप्टो करेन्सी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुर महानगरपालिका–२, सानेपास्थित कालोपुल क्षेत्रबाट सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमा भारतको बिहार राज्य, मोतिहारी निवासी ४३ वर्षीय रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण, बिजबानी निवासी २२ वर्षीय बिपिन कुमार रहेका छन्।

सीआईबीका अनुसार, उनीहरूले ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलको आडमा ठूलो परिमाणमा हुण्डी तथा डिजिटल मुद्रा कारोबार गर्दै आएका थिए। गोप्य सूचनाका आधारमा गरिएको छापामारीपछि प्रहरीले उनीहरूको आपराधिक संलग्नता खुलासा गरेको हो।

पक्राउपछि प्रहरीले ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, एक थान सीसीटीभी डिभिआर, र संरक्षित वन्यजन्तु कस्तुरीको अङ्ग (खेटोपहार जस्तो वस्तु) समेत बरामद गरेको छ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, प्रारम्भिक अनुसन्धानमै डेढ अर्बभन्दा बढीको क्रिप्टो कारोबार भएको पुष्टि भइसकेको छ। उनले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

नेपालमा क्रिप्टो करेन्सी र हुण्डी कारोबार गैरकानुनी मानिन्छ। यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई मनी लन्डरिङ, विदेशी मुद्रा कारोबार ऐन र वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ।