
बैंकिङ खबर/ नेकपा एसका उपमहासचिव एवं प्रमुख सचेतक मेटमणि चौधरीले चेक अनादरको उजुरी दिएका व्यवसायी धात बुढामगरलाई फेरि दुई करोड ७० लाख रुपैयाँको नयाँ चेक दिएका छन्।
गत असार १७ गते दुवैले जिल्ला प्रहरी कार्यालय पुगेर ३१ कठ्ठा जग्गा बुढामगरको नाममा पास गर्ने र साउन मसान्तसम्म उक्त रकम साटिने गरी मिलापत्र गरेका थिए। प्रहरी स्रोतका अनुसार यस सहमतिपछि बुढामगरले मुद्दा प्रक्रियाबाट पछि हट्न तयार भएका छन्।
बुढामगरले साउन ६ गते सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी दिएका थिए भने असार ८ गते जाहेरी फिर्ता गर्न पत्र पठाएका थिए।
मेटमणि चौधरीमाथि शहरी विकासमन्त्री हुँदा व्यवसायी बुढामगरसँग ठेक्का मिलाइदिन भन्दै ५ करोड ४० लाख रुपैयाँ लिएको आरोप लागेको थियो। ठेक्का मिलाउन नसकेपछि उनले उक्त रकम बराबरको चेक दिएका थिए।
दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले दुवै पक्षले मुद्दा अघि नबढाउने सहमति गरेको पुष्टि गरेका छन्। पीडित बुढामगरले मिलापत्रबारे थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।




