
बैंकिङ खबर/ नेकपा (एस) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीविरुद्ध पाँच करोड ४० लाख रुपैयाँको चेक अनादरसम्बन्धी बैंकिङ कसुरको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार चौधरीविरुद्ध हुलाकमार्फत आएको जाहेरीमा बैंकिङ कसुर सम्बन्धी आरोप लगाइएको छ ।
जाहेरीपछि प्रारम्भिक अनुसन्धान अघि बढाइएको र मुद्दा दर्ताको प्रक्रियासमेत थालिएको उनले जानकारी दिए । चौधरी प्रतिनिधिसभामा दाङ–१ बाट निर्वाचित सांसद हुन्। उनी नेकपा (एस) का प्रमुख सचेतकसमेत रहेका छन्। प्रहरी स्रोतका अनुसार, अहिले चौधरीविरुद्ध बैंकिङ कसुर तथा ठगीमध्ये कुन मुद्दा अघि बढाउने भन्ने विषयमा कानूनी परामर्श भइरहेको छ। उजुरीको पूर्ण अध्ययनपछि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने बताइएको छ । तर जाहेरी कसले दिएको हो भन्ने विवरण भने प्रहरीले गोप्य राखेको छ ।


