
बैंकिङ खबर/ खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसूर मुद्दा खेप्नुपर्ने अवस्था रहेका आसामीले अब बैंकिङ कसूर सम्बन्धि मुद्दा खेप्नु नपर्ने भएको छ। सरकारले बुधबारदेखि लागू हुने गरी चेक अनादर (बाउन्स)सम्बन्धी कसुर सम्बन्धमा नयाँ कानुन लागू भएको छ ।
सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा गरेको संशोधन नेपाल राजपत्रमा प्रकाशन भएसँगै यो नयाँ प्रावधान लागू भएको हो। संशोधित ऐनमा अब चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रकृया अघि बढाउनेछ । यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्ने विकल्प समेत थियो ।
बैंकिङ कसुर तथा सजाय ऐन संशोधनमार्फत विनिमय अधिकार ऐन, २०३४ दफा १०७(क) खारेज गरिएको छ । यो दफामा चेकमा उल्लेख भए बराबरको पर्याप्त निक्षेप नभएमा सजायसम्बन्धी व्यवस्था थियो । एउटै कसुरमा दुईथरी कानून रहेको भन्दै अब एउटै मात्र कायम गरिएको छ ।
विनिमेय ऐनको दफा १०७(क) खारेजसँगै चेक बाउन्स भएका एक वर्षभन्दा पुराना चेक काम नलाग्ने भएका छन् । विनिमय अधिकार ऐन, २०३४ अनुसार अनादर भएका चेकको हदम्याद पाँच वर्ष हुन्थ्यो । अब बैंकिङ कसुर ऐनअनुसार मात्र मुद्दा चल्ने भएकाले चेक बाउन्स भएको एक वर्षभित्र प्रहरीमा जाहेरी दर्ता गरिसक्नुपर्ने हदम्याद राखिएको छ । प्रहरीमा जाहेरी दर्ता भएको ६ महिनाभित्र प्रहरीले अदालत समक्ष मुद्दा लग्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ ।
