२०८२ बैशाख २४ गते

बैंकबाट फोन गरेको भन्दै ठगी गर्नेहरू बढ्दै : सतर्क रहन आग्रह

बैंकिङ खबर/ बैंकबाट फोन गरेको भन्दै पछिल्लो समय व्यक्तिगत विवरण मागेर ठगी गर्नेहरू बढेकोले सतर्क रहन आग्रह गरिएको छ । नेपाल बैंक लिमिटेडले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

विभिन्न सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर, युट्युब, टिकटक, ह्वाट्एप, इमो, भाइवर)मार्फत विभिन्न व्यक्ति वा समूहहरूबाट नेपाल बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटो, झुटा विवरणहरू, इमेल तथा लिङ्कहरू प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ ।

उनीहरूले कर्जा स्वीकृत पत्र, चिट्ठा, उपहार कार्यक्रम, अनलाइन तथा पार्ट–टाइम रोजगारीको अवसरहरू, बैंकले सामाजिक सञ्जालहरूमा गरेका पोष्ट वा जानकारीहरूमा कमेन्ट गरिएका ग्राहकको जिज्ञासाहरूमा अनधिकृत व्यक्ति वा संस्थाहरूबाट स्क्याम लिंकहरू पठाउने, व्यक्तिगत विवरणहरू माग्ने गरेको पाइएको छ ।

पछिल्लो समयमा विभिन्न व्यक्ति वा समूहहरूले बैंकको तर्फबाट फोन गरेको हो भन्दै आर्थिक प्रलोभन देखाई ठगी गर्ने गरेको गुनासोहरू बैंकमा बढ्दै गएको छ । यस्ता गतिविधिहरूबाट सचेत र सतर्क हुन ग्राहकहरूलाई नेपाल बैंकले अनुरोध गरेको छ ।

त्यस्तै, खाताको केवाईसी अपडेट गर्ने, कार्ड नवीकरण गर्ने, अनलाइन सपिङ प्रयोजनको लागि वा खातामा पैसा जम्मा गरिदिने भनी वा अन्य कुनै प्रयोजनका लागि ओटिपि, लिंक पिनकोड तथा पासवर्ड जस्ता सूचनाहरू बैंकले नमाग्ने भएको हुँदा यस्ता प्रकारका गोप्य सूचना तथा नम्बरहरू उपलब्ध नगराउन बैंकले आग्रह गरेको छ ।