Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

समृद्धि फाइनान्सको सिइओमा सन्तोषकुमार घिमिरे नियुक्त

२०८२ बैशाख ३ गते

बैंकिङ खबर/ समृद्धि फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । मंगलबार संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथग्रहण गर्दै घिमिरेले नयाँ भूमिकाको पदभार ग्रहण गरेका हुन्।

यसअघि फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। घिमिरे नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमा करिब तीन दशक सेवा गरेर अवकाश प्राप्त गरिसकेका अनुभवी व्यक्ति हुन्।

राष्ट्र बैंकमा कार्यरत रहँदा उनले समस्याग्रस्त वित्तीय संस्थाहरूको व्यवस्थापनदेखि नीतिगत कार्यान्वयनमा सक्रिय भूमिका खेलेका थिए। त्यसैगरी, घिमिरे गोर्खाज फाइनान्स लिमिटेडमा पनि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गरिसकेका छन्।

साथै, नेपाल सेयर मार्केट फाइनान्सजस्ता चुनौतीपूर्ण संस्थामा व्यवस्थापन प्रमुखको रूपमा रहेर उनले संस्थागत सुधारको पहल गरेका थिए। नियामक निकायदेखि निजी क्षेत्रका वित्तीय संस्थासम्मको गहिरो अनुभव बोकेका घिमिरेको आगमनसँगै समृद्धि फाइनान्सले आफ्ना रणनीतिहरू अझ स्पष्ट, सुदृढ र दीर्घकालीन लक्ष्यप्रति केन्द्रित हुने विश्वास लिएको छ।

उनको नेतृत्वमा फाइनान्सले सेवा पहुँच अभिवृद्धि, ग्राहक सन्तुष्टि, जोखिम व्यवस्थापन र डिजिटल वित्तीय समाधानमा उल्लेखनीय फड्को मार्ने अपेक्षा गरिएको छ।