March 30th, 2025

राजावादीहरुको आन्दोलनमा बैंक वित्तको ऋण नतिर्नेहरुको सहभागिता धेरै


बैंकिङ खबर/ काठमाडौं चैत १५ गते भएको राजावादीहरुको आन्दोलनमा बैंकवित्तीय क्षेत्रमा ऋण नतिर्नेहरुको बढी रहेको थियो । आन्दोलनको कमान्डर थिए विगत लामो समयदेखि बैंकहरुप्रति अफवाह फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका दुर्गा प्रसाईं । उनै प्रसाईं तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको थियो । उनी सोही दिनबाट सम्पर्क विहीन भएपनि आइतबार मात्रै भिडियो सार्वजनिक गर्दै आफु काठमाडौंमै रहेको बताएका छन् । उक्त भिडियोमा दुर्गा प्रसाईंले लघुवित्त, सहकारी र बैंकपीडित सबैको आवाजलाई बुलन्द गर्दै चैत १५ को आन्दोलन गरेको बताएका छन् ।

 

उनै प्रसाईंले चैत १५ गतेको आन्दोलनमा बैंकवित्तका ऋण नतिर्ने अभियानमा लागेकाहरुलाई सहभागी गराएका थिए । प्रसाईं विगतदेखि नै वित्तीय संस्थाविरूद्ध अभियान चलाएर चर्चामा छन् ।

‘लघुवित्त तथा वित्तीय संस्थाका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर ग¥यो भनेर बैंकभित्र पसेमा डाँका मुद्दा लाग्छ तर बाहिर रूँघेर बस्ने कालोमोसो दल्ने’ उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा विगतमा पनि छाएको थियो । उनले विगतदेखि बैंक वित्तीय संस्थाको ऋण नतिर्न पनि उक्साउँदै आएका छन् । साथै प्रसाईले बैंकका माथिल्लो तहका कर्मचारीलाई फोन गरेर थर्काउने गरेका थिए ।

यस्तै निजी क्षेत्रका व्यवसायी तथा बुद्धिजीवीहरू नै राजावादी आन्दोलनको नेतृत्वकर्ता प्रसाईको समर्थनमा उत्रिएका थिए । भवानी राणा, कुशकुमार जोशी, दिनेश श्रेष्ठ लगायत नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान र पूर्व नेताहरूले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राजावादी धारको पक्षमा विज्ञप्ति सार्वजनिक गरेका थिए ।

उक्त आन्दोलनको क्रममा भाटभटेनी, व्यापारिक कम्प्लेक्स, अस्पताल तथा सञ्चारगृहहरूमा आगजनी र तोडफोड भएपछि उनीहरूमाथि नै अराजकतामा नेतृत्वदायी भूमिका खेलेको आरोप समेत लागेको छ ।

शुक्रबार तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शनकारीहरूले निजी सम्पत्ति र सार्वजनिक संरचनामा क्षति पु¥याएको दृश्यहरू सामाजिक सञ्जालमा फैलिएको छ । व्यवसायिक प्रतिष्ठानहरूमा लुटपाट, घर–घरमा आगजनी, र भाटभटेनीजस्ता सुप्रसिद्ध व्यापारिक केन्द्रमा तोडफोड भएको घटनालाई लिएर व्यवसायी समुदायमै आन्तरिक आलोचना चर्किएको छ।

राजनीतिक असन्तोषको नाममा निजी क्षेत्र ध्वस्त पार्ने मनोवृत्तिको संरक्षण गर्नेहरूलाई पनि प्रत्यक्ष जिम्मेवार ठहर गर्नुपर्ने आवाज व्यवसायिक समुदायभित्रै उठ्न थालेको छ।

उद्योग व्यवसाय चलाउने नाममा बिभिन्न बैंकबाट उनीहरुले ऋण बापत लिएको करोडौं रुपैयाँ आम सर्वसाधारणको निक्षेपको पैसा हो। तर लिएको ऋण पनि नतिर्ने तर उल्टै उद्योग व्यवसायमाथि राजाबादीको आन्दोलनको नाममा अराजकता मच्चाउने गरेकाले उनीहरुको निजि क्षेत्रबाट चौतर्फी आलोचना भएको छ ।