March 26th, 2025

राष्ट्र बैंक सिद्धार्थनगरले विविध कार्यक्रम गरी मनायो ग्लोबल मनी वीक

   

बैंकिङ खबर/ वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको बारेमा जानकारी दिँदै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले विविध कार्यक्रम गरी ग्लोबल मनी वीक (१७ देखि २३) भव्य रुपमा मनाएको छ ।

वित्तीय सचेतना र किशोर/किशोरी तथा युवा वर्ग लक्षित विश्वब्यापी कार्यक्रमको १३ औं श्रृंखला मनाउने कार्यक्रम अन्तर्गत नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको संयोजकत्वमा मिति २०८१ चैत ४ गते क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाहरु, पत्रकार लगायतको करिब ७०० जनाको उत्साहकजनक उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त प्रभातफेरी कार्यक्रम कार्यालय परिसरदेखि बैंकरोड–मिलनचोक–नारायणस्थान–बुद्धचोक–बर्मेलीटोल हुँदै पुनः कार्यालय परिसरमा आइ सम्पन्न भएको थियो ।

कार्यक्रम समापन गर्दे नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले वित्तीय चेतना अभिवृद्धि गर्ने कार्यमा सबै बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुनुपर्ने तथा यस्तो चेतनामुलक कार्यक्रमहरु बालबालिका तथा युवावर्ग बीचमा पुर्याउन आग्रह समेत गरे ।

त्यसैगरी चैत्र ४, ५, ६ र ७ गते रुपन्देही जिल्ला अन्तर्गतका श्री होराइजन गौतमबुद्ध सेकेन्डरी स्कुल, श्री रुपन्देही क्याम्पस, श्री साइ ग्लोबल एकडेमी, श्री नेपथ्य कलेज, श्री एम्स कलेज तथा श्री देवदह आदर्श बहुमुखी क्याम्पससहित ७ वटा विद्यालय तथा क्याम्पसका कक्षा ११ र १२ एवम् स्नातक तहमा अध्ययनरत करिव ४५० बढी विद्यार्थीहरुलाई कार्यालय भ्रमण-अवलोकन गराइ वित्तीय साक्षरताका विविध पक्ष सम्बन्धमा जानकारी दिइएको थियो ।

ग्लोबल मनी वीक कार्यक्रमकै सन्दर्भमा कार्यालयले मिति २०८१ चैत्र ८ गते रुपन्देही जिल्लाका क्याम्पसहरु बीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेका थियो । उक्त प्रतियोगितामा १५ वटा क्याम्पसहरु सहभागी भएकोमा देवदह आदर्श बहुमुखी क्याम्पस प्रथम, बुटवल कालिका क्याम्पस द्वितीय एवम् होराइजन गौतमबुद्ध तृतीय स्थान प्राप्त गर्न सफल रहे। प्रतियोगिताका विजेताहरुलाई नेपाल राष्ट्र बैंकका निर्देशक रमेश आचार्यले प्रमाणपत्रसहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

यसैगरी २०८१ चैत्र १० गते श्री अभिरुची ऋण तथा बचत सहकारी संस्था लि. सँगको समन्वयमा सिद्धार्थनगर नगरपालिका ६ स्थित मुनलाइट उच्च मा.वि.मा कक्षा ९ का विद्यार्थी, शिक्षक, सहकारीका सदस्य सहित करिब १०० जनाको सहभागितामा वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।

सहकारीका अध्यक्ष टिकाराम भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा यस कार्यालयका निर्देशक रमेश आचार्यले प्रमुख अतिथिको भूमिका निर्वाह गर्दै वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने सन्दर्भमा सहकारी तथा विद्यालयहरुसँग सहकार्य गर्न सधैँ तत्पर रहने बताए ।

उपनिर्देशक जीवन प्रकाश पाण्डेयले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा वार्ताकारको रुपमा दिपक गौतमले वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।