January 27th, 2025

कर्णाली डेभलपमेन्ट बैंकः सीआईबीद्वारा अनुसन्धान सुरु


बैंकिङ खबर/ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली डेभलपमेन्ट बैंकको अनुसन्धान सुरु गरेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समितिले तयार पारेको प्रतिवेदनको आधारमा नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई ११ पुसमा समस्याग्रस्त घोषणा गरेको थियो । सोही प्रतिवेदन समेतको आधारमा नेपाल राष्ट्र बैंकले आवश्यक अनुसन्धान गर्न पत्र पठाए पनि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

प्रतिवेदनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव बेदप्रकाश ठकुरी र हालका प्रमुख कार्यकारी अधिकृत र वित्त विभाग प्रमुख निरजविक्रम शाहको संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो ।

प्रतिवेदनमा राष्ट्र बैंकले आन्तरीक रुपमा थप अध्ययन गरी आवश्यक कारवाहीको लागि केन्द्रिय अनुसन्धान ब्युरोमा पठाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट आवश्यक अनुसन्धानको लागि गत साता पत्र पठाएपछि अनुसन्धान सुरु गरेको सिआईबीले जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै मुद्दति निक्षेपको नक्कली प्रमाणपत्र बनाएर नेपाल राष्ट्र बैंकमा पेश गरेको खुलेको थियो । यस्तै बैंकको आन्तरीक अनुसन्धानमा १ अर्ब २६ करोड रुपैयाँको वर्तमान र पुर्व व्यवस्थापन समितिको नेतृत्व र पुर्व अध्यक्षहरुको समेत संलग्नतामा अपचलन भएको खुलेको थियो । सोही अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकमा पुगेपछि बैंकले राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन हातमा लिएको थियो ।