बैंकिङ खबर/ नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेलाई बिना धितो बैंक ग्यारेन्टी बसेको भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाखदेखि २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने, वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?’
उनले थपेका छन्,‘प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडियासँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा यीनिहरूको साठगाँठ हुनुपर्छ ! ’
उनले यसको बारेमा सही छानबिन गरी कारबाही गर्न आवश्यक रहेको बताएका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछाने रुपन्देही जिल्ला अदालतको आदेशअनुसार १ करोड रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा भएका छन् । अदालतको आदेश अनुसार प्रभु बैंक ग्यारेन्टी बसेपछि उनी रिहा भएका हुन् । रुपन्देहीबाट रिहा भएसँगै उनले यसअघि दुई जिल्ला अदालतको आदेश अनुसार १ करोड २५ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । उक्त दुबै अदालतमा प्रभु बैंक नै ग्यारेन्टी बसेको थियो ।