
बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकले कर्जा असुलीका लागि छुट्टै एकाइ सञ्चालनमा ल्याउने भएको छ। कर्जा असुलीमा दबाब देखिन थालेपछि बैंकले प्रदेश र केन्द्रमा छुट्टाछुट्टै कर्जा असुली एकाइ स्थापना गर्ने योजना अघि सारेको हो।
अर्थतन्त्रमा सुस्तता छाउँदा पछिल्लो २ वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले अपेक्षाअनुसार कर्जा असुली गर्न सकेका छैनन्। कर्जा असुली गर्न नसकेपछि खराबकर्जाको चपेटामा पर्दै आएका बैंकहरुले पछिल्लो समय असुलीमा नयाँ प्रयोग गर्न थालेका हुन्।
राष्ट्रिय वाणिज्य बैंकले भने कर्जा असुलीलाई बढाउनकै लागि चालू आवभित्रै सातै प्रदेशमा कर्जा असुली एकाइ स्थापना गर्ने भएको हो। योसँगै बैंकले प्रादेशिक कार्यालयहरुलाई कर्जा असुलीसम्बन्धी थप अधिकार दिने तथा कर्मचारीहरुलाई खराब कर्जा व्यवस्थापन विषयमा प्रशिक्षण समेत दिने योजना अघि सारेको हो।
यसअघि एनआईसी एसिया बैंकले पनि कर्जा असुलीमा समस्या भएको भन्दै धितो लिलामीका लागि छुट्टै अक्सन असिस्टेन्स नामक साइट नै सञ्चालन गर्दै आएको छ। राष्ट्रिय वाणिज्य बैंकले पनि कर्जा असुुलीलाई बढाउन छुट्टै एकाइ गठन गर्ने भएको हो।



