
बैंकिङ खबर/ एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बन्न पुगेको छ। एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२.०३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज भने ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेकै कारण बैंकको नाफा दबाबमा परेको हो ।
पुस मसान्तसम्म बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ ।
त्यस्तै, यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ९२ पैसा रहेको छ ।
हाल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ जम्मा रहेको छ ।
शेयरधनीको हात रित्तै
एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २९ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।




