बैंकिङ खबर/ ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ ।
ग्लोबल आईएमई बैंक यही पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार वृक्षारोपण गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपेर उक्त अभियानको शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षारोपण कार्यक्रम चालू आर्थिक वर्षभरि सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरू रोपण गर्ने जानकारी दिए ।
‘रुखविरुवा प्रकृति संरक्षणको महत्त्वपूर्ण पाटो हो । वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको स्रोत जोगाउन सहयोग पुर्याउँछ,’ उनले भने ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक(फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।