बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालकमा निर्वाचित गरेको हो ।
स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए । सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।
बैंकको सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ र अन्य पुरानै अनुहार हुन् । नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैंकिङलाई थप प्राथमिकता दिएर अघि बढ्ने बताए ।
रूपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । ८ अर्ब अधिकृत पुँजी तथा जारी र चुक्ता पुँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकामा बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्ने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार बैंकले अहिलेसम्म ८८ वटा शाखा, एक एक्सटेन्सन काउन्टर, १६ एटीएम मेसिनबाट सेवा प्रवाह गरिरहेको छ । ७ लाख ५ हजार ५८ जना बचतकर्ता रहेको बैंकले १७ हजार १ सय ३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ । बैंकमा ७ सय ३८ जना कर्मचारी कार्यरत छन् ।
बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड ९५ लाख, कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति सेयर आम्दानी १४ दशमलव ४८ प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात १२ दशमलव ५६ प्रतिशत छ ।