December 30th, 2024

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव, सातै प्रदेशमा प्रभातफेरी आयोजना

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सव अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना बढाउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका मुख्यमुख्य सहरमा प्रभातफेरी आयोजना गरेको हो। बैंकले आगामी पुस १८ मा स्थापनाको १९औं वर्ष प्रवेश गर्दै छ।

काठमाडौंमा आयोजित प्रभातफेरीमा उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा ग्लोबल आइएमई बैंक अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य, बैंक उच्च व्यवस्थापनसहित १५ सय बढी कर्मचारी उपस्थित थिए।

वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीले कान्तिपथ शाखा कार्यालयबाट सहरका मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यकाबाहिर मुख्यमुख्य सहर परिक्रमा गरेका थिए।

हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।