बैंकिङ खबर/ केवाइसी रुजु गर्न ग्राहकका कागजात दुरुपयोग गर्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ परेका छन् । आराधिक गिरोहसँग मिलेर ग्राहकका कागजातहरू फोटो, नागरिकताको प्रतिलिपिलगायत विवरण डाउनलोड गरेर काम गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ पर्नेहरूमा धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत छन् ।
विज्ञप्तिमा वालेट मात्रै उल्लेख भए पनि उनीहरू खल्ती वालेटका कर्मचारी रहेको अपराध अनुसन्धान कार्यालयले जानकारी दियो । उनीहरुले नो योर कस्टमर (केवाईसी) रुजु गर्नका लागि अपलोड गरिएका विवरणहरुबाट फोटो, नागरिकताको प्रतिलिपिलगायत विवरण डाउनलोड गरेर आपराधिक गिरोहसँग कमिसन लिई सघाएको देखिएको प्रहरीले जनाएको छ ।
उनीहरुले ग्राहकका कागजात डाउनलोड गरेर अन्य व्यक्तिको नाममा फरक फरक मोबाइल नम्बरहरुबाट ५५ वटा भन्दा बढी वालेट गैरकानूनी रुपमा खोलेको पाइएको प्रहरीले बताएको छ । त्यस्ता वालेटहरुलाई उनीहरुले रुजुसमेत गरेको पाइएको प्रहरीले बताएको छ ।
आपराधिक गिरोहसँग मिलेर आर्थिक लाभ लिई नक्कली वालेट खोल्ने र व्यक्तिका कागजात आपराधिक गिरोहलाई दिएको पाइएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।
पक्राउ परेकाहरुलाई आपराधिक विश्वास घातको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।