बैंकिङ खबर/बिहीबार बैंकिङ क्षेत्रका विभिन्न गतिविधिहरु भएका छन् । जसलाई हामीले एउटै पानामा समेट्ने जमर्को गरेका छौं । बिहीबार बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरेका छन् । समग्रमा, बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
सिद्धार्थ बैंकले सार्वजनिक गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने ४६ जनाको नाम
क्रेडिट कार्ड कर्जा लिएर साँवा ब्याज नतिर्नेलाई लक्षित गर्दै सिद्धार्थ बैंकले सूचना निकालेकाे छ । बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दापनि नतिरेपछि ३५ दिनको समय दिएर बैंकले ४६ जना ऋणीको नाम सार्वजनिक हाे ।
‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटक –पटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
गरिमा विकास बैंक र फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सहकार्य भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालको तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हिमालयन लघुवित्तद्वारा २ लाख ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी” हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शंखरापुर काठमाडौंले बीमा दावी रकम भुक्तानी गरेको छ । शंखरापुर शाखामा रहेको केन्द्र न.१०६ की सदस्य बसन्त राईको श्रीमान् फडिन्द्र प्रसाद राईको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम दिइएको हो ।
सदस्य बसन्त राईले संस्थाबाट २ लाख रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु भएपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम २ लाख समेत फिर्ता गरी जम्मा रकम २ लाख २५ हजार निज सदस्य बसन्त राईलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाकी शाखा प्रबन्धक झुमा पौडेलले बताइन् ।
इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रा.लि.का निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले हस्ताक्षर गरेका छन्।
दोहोरो अंकले बढ्यो सेयर बजार
साताको अन्तिम कारोबार बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा उक्लिएको छ। बजार बढ्दा १५९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ७९ कम्पनीको ओरालो लागेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा बढेको छ भने ६ वटा घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.३४ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.६२ प्रतिशतले घटेको छ।
धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो । यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो । अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको जानकारी दिएको थियो ।