बैंकिङ खबर/सोमबार बैंकिङ क्षेत्रका विभिन्न गतिविधिहरु भएका छन् । जसलाई हामीले एउटै पानामा समेट्ने जमर्को गरेका छौं । सोमबार बैंक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरेका छन् । समग्रमा, बैंक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
‘उद्यमशीलता प्रवर्द्धनमा सरकार सबै किसिमका नीतिगत सहजीकरणका लागि तत्पर’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलता प्रवर्द्धनमा सरकार सबै किसिमका नीतिगत सहजीकरणका लागि तत्पर रहेको बताएका छन् । ‘सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेस’ र स्वशासन अध्ययन प्रतिष्ठानले संयुक्त रूपमा आज ललितपुरमा आयोजना गरेको ‘नेपालमा नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले निर्जीव वस्तुलाई बढी माया गरेर धितोका रुपमा स्वीकार गरेर मात्रै कर्जा प्रवाह गर्ने नीतिमा अडिग भएर धितो राख्ने सम्पति नभएका तर नवीन सोच भएका युवाहरुको सृजनशीलतालाई मार्ने काम गर्नु नहुने बताए ।
“सरकारले दिने भनेको नीतिगत निर्णय हो, सबै काम सरकारले गर्ने हैन, सहज ढङ्गमा त सबै रमाउन सक्छ, जटिलतामा पनि हामीले सम्भावनाको खोजी गर्दै सहज बनाएर लाग्नुपर्छ, बैङ्कर एसोसिएसन र राष्ट्र बैङ्कले पनि यसलाई सहजीकरण गर्नुपर्छ”, उनले भने ।
विसं २०७६ को नीति तथा कार्यक्रममा समावेश भएको स्टार्टअपको नीतिगत व्यवस्था र कार्यान्वयनका लागि अघिल्लो वर्ष रु २५ करोड बजेट रहेकामा चालु आवमा एक अर्बमा पु¥याउन सफल भएका मन्त्री भण्डारीले बताए ।
कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतामुलक प्रभातफेरी
कामना सेवा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमवार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कर्जा, बचत तथा बैंकिङ सेवा सुविधा लगायत विषय सम्वन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उक्त बैंकको कर्मचारीहरुका उपस्थितीमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो । यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुका बारेमा बुझ्न मद्दत पु¥याउने बैंकले विश्वास लिएको छ ।
एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलि–पे को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल–पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न आग्रह
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। ‘आयकर ऐन २०५८’ अनुसार ग्राहकको करकट्टी विवरण नेपाल सरकारको प्यान प्रणालीमा अद्यावधिक गर्न आवश्यक भएकाले बैंकले प्यान अद्यावधिक गर्न भनेको हो।
बैंकको वेबसाइट वा मोबाइल एपको विकल्प प्रयोग गरी वा बैंकको नजिकको शाखा कार्यालयमा गई प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।
मेरो माइक्रोफाइनान्स लघुवित्त १३औं वर्षमा प्रवेश
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सव मनाउँदैछ । १२ वर्षको यात्रामा संस्थाले मुलुकभरि वित्तीय पहुँच विस्तार गर्दै हजारौं नागरिकलाई वित्तीय सेवामा समेटेको छ । यस अवसरमा संस्थाले आफ्नो प्रगति र सफलता पछाडि रहेका सबै शेयरधनी, लगानीकर्ता, ग्राहकवर्ग, नियामक निकाय, सञ्चारकर्मी, कर्मचारी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको इजाजतपत्र प्राप्त मेरोमाइक्रोफाइनान्स लघुवित्तको स्थापना सन् २०१३ मा ७ वटा वाणिज्य बैंक र १ वटा विकास बैंकको सहकार्यमा भएको थियो ।
गुराँस लघुवित्तको सञ्चालकमा खतिवडा नियुक्त
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा संस्थापक शेयरधनी मदन खतिवडा नियुक्त भएका छन्। कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गतको रिक्त सञ्चालक पदमा आगामी साधारणसभाबाट अनुमोदन हुने गरी खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।
दोहोरो अंकले बढ्यो शेयरबजार
साताको दोश्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से २२.१४ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २७ सय ६०.२१ को बिन्दुमा कायम रहेको छ। बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।अघिल्लो कारोबार दिन ९ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ११ अर्ब ३१ करोडको कारोबार भएको छ ।
आज कारोबारमा आएका ३०२ कम्पनी मध्ये १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
रोजगारी
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्र बैंक विज्ञापन नं १३/२०८१, सहायक,(सहायक द्वितीय) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
लोक सेवा आयोग राष्ट्र बैंक विज्ञापन नं.१०३/२०८१ सिपाही (महिला) पदको प्रयोगात्मक परीक्षाको नतिजा तथा अन्तर्वार्ता कार्यक्रम सूचना सार्वजनिक गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी लेभलका लागि ५ जना, ट्रेनी असिस्टेन्ट लेभलका लागि ५० जना गरी कुल ५५ जना कर्मचारी माग गरेको हो ।