
के हो त डिजिटल कारोबार ?
खासगरी भौतिक मुद्राको उपस्थितिबिना नै इन्टरनेट तथा विद्युतीय उपकरणहरूको प्रयोगबाट वस्तु तथा सेवा खरिद बिक्री लेनदेन तथा अन्य भुक्तानीको कारोबारहरु हुन्छन् भने त्यस्तो कारोबारलाई डिजिटल कारोबार भनिन्छ। घरमै बसी वा आफू जुन ठाउँमा रह्यो त्यही ठाउँबाट कारोबार गर्न सकिने भएकाले डिजिटल कारोबार हिजोआज निकै लोकप्रिय बन्दै गएको छ।
कोभिड १९ को महामारीको प्रभावमा नगद रहित कारोबारको सुरुवातसँगै नोटको प्रयोग घटेको छ। भने डिजिटल कारोबारले चोटिलो प्रभाव छोडेको छ। हिजोआज कारोवारको तौरतरिका फेरियो र नगद रहित डिजिटल कारोबारले व्यापकता पायो।
बढ्दो स्मार्टफोनको विस्तार र इन्टरनेटको पहुँचसँगै हरेक मानिसमा नगदरहित कारोबारले ठूलो गति समातेको छ। बजारमा तरकारी खाद्यान्न वा अन्य सर सामान किन्नदेखि लिएर गाडी सवार गर्दासम्म नोट बोक्नु पर्दैन । सञ्चारका बिल खानेपानी बिल विद्युतीय महसुल इन्टरनेट वा टेलिभिजनका बिलहरुपनी सजिलै डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिन्छ।
सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले पनि डिजिटल कारोबारको लागि बढवा दिइरहेका छन्। त्यसको मुख्य कारण सेवाग्राहिहरुलाई डिजिटल साक्षर बनाई बैंकमा हुने भिड/ लाइन लाई कम गर्नु हो साथै ग्राहकहरुले छिटो र छरितो बैंकिङ सेवाको पहुँच पाउन भन्ने हो ।
नेपाल राष्ट्र बैंकले गत असारमा जारी गरेको एक प्रतिवेदन अनुसार डिजिटल कारोबारमा २०८० असारसम्ममा भएको कारोबारको तुलनामा २०८१ को असार सम्म हेर्दा धेरैजसो माध्यमहरूमा कारोवार संख्या तथा रकम डबल भन्दा बढीले वृद्धि भएको पाइन्छ उक्त प्रतिवेदन अनुसार मुलुकमा आर्थिक वर्षमा मात्रै QR कोड मार्फत ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। जुन आर्थिक वर्ष ७९/८० को तुलनामा २०५%ले बढी हो।
छोटो समयमा क्युआरमा आकर्षक किन बढी भयो?
हिजोआज धेरैजसो व्यक्ति कुनै न कुनै पेशा तथा ब्यवसायमा आबद्ध छन् नगद रकम लिएर बैंकसम्म गइ लाइन लाग्ने फुर्सद छैन र चाहना पनि । व्यापारीहरु पनि दिनभरको नगद गन्ने र निक्षेपको लागि बैंक जानु पर्ने झन्झट गर्नुको सट्टा ग्राहकलाई क्युआरमै भुक्तानी गर्न सजिलै आग्रह गर्छन् ।
यसो गर्दा नक्कली नोटको जोखिम हट्ने तथा समयको बचत र खर्च कटौती हुने फाइदा छ। बैंक तथा वित्तीय संस्थाले पनि स्कुल क्याम्पसमा डिजिटल कारोबारको सचेतना कार्यक्रम राखिरहने भएकोले विद्यार्थीहरू पनि भौतिक मुद्राभन्दा फिङ्गर रकमलाई सजिलै स्वीकार गर्दछन्।।
सुपरमार्केट, होटेल, रेस्टुरेन्टदेखि पान पसलसम्म डिजिटल कारोबार गर्नेहरु बढेका छन् । नगद बोकेर हिँड्दाजस्तो हराउने डर नहुने र कारोबार गर्न पनि सहज भएकाले डिजिटल भुक्तानी गर्ने क्रम बढेको हो । अझ रोचक कुरा त के छ भने, ब्यक्ति ब्यक्ति बिचको लेनदेनमा सम्म भुक्तानीको लागि खाता नम्बर होइन क्युआर पठाउनुहोस् न भन्नू हुन्छ यस्मा कुनै विवरण भर्न पनि नपर्ने र सेकेन्डमै स्क्यान गरेर भुक्तानी गर्न सकिने भएकोले क्युआरको माग ब्यवसायिहरुमा मात्र सिमित रहेन ।
अझ डिजिटल कारोबारमा लाग्ने चार्ज हटाउने हो भने यसको समयानुकुल कारोवार तथा प्रयोग बढ्ने निश्चित छ। यो विषयमा भर्खर मात्रै प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को चासो भएको कुरा समाचारमा आएको छ सकारात्मक रिजल्टको प्रतिक्षामा आम नागरिक छन्।
प्रत्येक वर्ष नोट निष्कासन गर्दा ४०० मिलियन रकम खर्च हुने नेपाल राष्ट्र बैंकको नोट व्यवस्थापन बिभागले जनाउछ । भ्याट सहित लाग्ने प्रती कारोबार शुल्क हटाउन सके डिजिटल लेनदेनमा अरु प्रयोगकर्ता आकर्षित हुन्छन । त्यसो भयो भने नोट निष्कासन कम गरि त्यसमा हुने राज्यको लागत कम गर्न सकिन्छ साथै डिजिटल कारोबारले सबै को लागि सहज हुने कुरामा दुईमत नहोला ।
(लेखक घिमिरे बैंकर हुन्, उल्लेखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन्)