२०८१ भाद्र २७ गते

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा

बैंकिङ खबर/ गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि‘सित्तैमा’ लगानी व्यवस्थापन सेवाउपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।

देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी सेयर बजारमा लगानी गर्ने?कसरी सेयर कारोबार गर्ने?भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’ सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको उल्लेख गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकमरु ३ लाख (नगद वा सेयर वा दुबै) बाट लगानी गर्न सक्नेछन् । यसमा वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्न ‘सित्तैमा’गज्जवको योजना बजारमा ल्याएको छ । क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशत सम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ ।

यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सक्नेछन् ।