September 10th, 2024

साढे १४ करोड कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी

बैंकिङ खबर/साढे १४ करोड रुपैयाँ कर्जा मिलाइदिने प्रलोभन दिएर १७ लाख भन्दा बढी ठगी गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा गाउँपालिका वडा नम्बर १ का विष्णु बहादुर कार्की रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हाल बुढानीलकण्ठ बस्दै आएका उनले आफू पीएचडी डाक्टर तथा हाइप्रोफाईल व्यक्ति रहेको भन्दै एक व्यक्तिलाई कृषि कर्जाका लागि साढे १४ करोड रुपैयाँ ऋण मिलाइदिने भन्दै प्रलोभनमा पारेका थिए ।

त्यसपछि उनले विभिन्न बहानामा जाहेरीवालासँग सत्र लाख एकतीस हजार रुपैयाँ लिएर फरार भएका थिए । पीडितको जाहेरीका आधारमा साउन १८ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएसँगै कार्यालयले कार्कीलाई बुढानीलकण्ठबाटै पक्राउ गरेको हो ।