२०८१ भाद्र १७ गते

नक्कली नोट बनाउँदै गरेको अवस्थामा ८ जना पक्राउ

बैंकिङ खबर/सर्लाही प्रहरीले नक्कली नोट बनाउँदै गरको अवस्थामा भारतीय सीमा क्षेत्रबाट आठ जनालाई पक्राउ गरेको छ। भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रबिन्द्र बहादुर सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका–१ कुपनडोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३७ वर्षीय अमिर खत्री, भारतको सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानीटंकी घर भएका ४० वर्षीय सुवोध कुमार, साेही ठाउँका ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुरका ३७ वर्षीय विशाल राई छन्।

उनीहरुको साथबाट केही नगद र नक्कली नोट बनाउने केमिकल र उपकरणहरु बरामद भएको छ। उनीहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रंगको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ।