बैंकिङ खबर/गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न ‘वित्तीय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताए ।
प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसद्मा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुंग्याएर मन्त्रिपरिषद्मा पठाउने उनले जानकारी दिए । ‘प्रहरीका केही कानून धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिनुभयो,’ गृहमन्त्री लेखकले भने, ‘सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सैद्धान्तिक रूपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौं ।’
सर्वोच्च अदालतको आदेश सबैका लागि मान्य हुने उनको भनाइ थियो । सर्वोच्च अदालतले २०७०/७१ मा नियमावलीमा भएको व्यवस्था ऐनमा व्यवस्था गर्न सरकारलाई दिएको आदेश यतिका दिनसम्म पालना नभएको उल्लेख गर्दै उनले आफूले पदभार ग्रहण गरेपछि सो कार्य अघि बढाएको जानकारी दिए ।