August 29th, 2024

सानिमा बैंक मान्म शाखाद्वारा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान

बैंकिङ खबर/ सानिमा बैंक मान्म शाखाले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीलाई एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति रकम प्रदान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी दुई जना विद्यार्थीलाई जनही रु.५०/५० हजार बराबरको छात्रावृत्ति रकमसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

छात्रवृत्ति पाउनेमा गरिब तथा जेहन्दार खाँडाचक्र नगरपालिका वडा नम्बर ११ का रुपेश बहादुर शाही र वडा नम्बर २ निवासी विवेक जैसी रहेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए ।

विगत १४ वर्षदेखि सानिमा बैंकका शाखाहरुबाट निरन्तर रुपमा संस्थागत उत्तरदायित्व कार्यक्रम ‘सानिमा छात्रवृत्ति’ अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाई प्रत्येक वर्ष हरेक शाखाबाट एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

विद्यार्थीहरुलाई आफ्नै रोजाईंको शैक्षिक संस्था र संकायमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए । स्थानीय तहका विद्यालयहरुबाट प्राप्त आवेदनका अनुसार छनौट प्रक्रियामा समावेश भएर उत्तीर्ण हुन सफल विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

प्र.जि.अ नेपालीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि सानिमा बैंकले ल्याएको यस्ता छात्रवृत्तिका कार्यक्रमले विद्यार्थीको उज्वल भविष्य निर्माण गर्न सहयोग पुग्ने बताए ।