August 25th, 2024

गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड’बाट सम्मानित

 

बैंकिङ खबर/ गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड’ नामक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले भारतीय चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड कार्यक्रममा उक्त अवार्ड हात पार्न सफल भएको हो ।

उक्त प्रतिस्पर्धामा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई त्यस्तो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्डको प्राप्तिले गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षितसमेत रहेको पुष्टि हुन्छ । कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाइ प्रमुख नकुल पौडेलको उपस्थिति थियो ।

सो अवसरमा आयोजित ड्राइभिङ इफिसिएन्सिज एक्रोस द भ्यालु चैन विषयक प्यानल डिस्कसनमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थएि ।

कार्यक्रममा उपाध्यायले नेपालको बैंकिङ परिदृश्य, बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग र आगामी चुनौतीका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । प्यानल डिस्कसनमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायका साथै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजीव रञ्जन प्रसाद र न्युजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनिल पण्डित मुख्य वक्ताको रूपमा रहेका थिए ।

सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशकसमेत वक्ताको रूपमा सहभागी थिए । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५० वटा एटीएममार्फत ग्राहकहरूलार्ई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।