२०८० मंसिर ७ गते

सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

दिवस ढकाल

नेपाल सरकारले टिकटक प्रयोगमा लगाएको प्रतिबन्धपछि वास्तवमा सरकारले यसो गर्नु ठीक हो वा होइन ?, भन्ने विषयमा व्यापक रुपमा यसको पक्ष र विपक्षमा वहसहरु भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगका आफ्नै फाइदा र वेफाइदा छन् । जतातिर म जान चाहन्न यद्यपि टिकटक प्रयोगको सन्दर्भमा नेपालमा थुप्रै विकृति देखा परेको सजिलै स्वीकार्न सकिन्छ ।

भविष्यमा टिकटक माथिको बन्देज हट्ला अथवा सरकारले यसलाई नियमनको दायराभित्र ल्याउला त्यो कुरा आफ्नै ठाँउमा छ । तर यस सन्दर्भमा हामी सर्वसाधारण जो सामाजिक सञ्जालका प्रयोगकर्ता (Content Consumer) हौँ । हामीले सामाजिक सञ्जाल तथा ईन्टरनेट प्रयोग गर्दा केही सावधानी पक्कै पनि अपनाउनुपर्छ जसलाई निम्नानुसार चर्चा गरिएको छ ।

१).अत्याधिक सूचनाले दिग्भ्रमित पार्न सक्ने

विगतमा जोसंग सूचना प्रविधि अथवा डेटाको पहुंच हुन्थ्यो त्यो सम्भ्रान्त वा सामान्य व्यक्तिभन्दा शक्तिशाली मानिन्थ्यो । तर अहिले सामाजिक सञ्जाल तथा ईन्टरनेट मार्फत सूचना यति धेरै सर्वसुलभ र सर्वव्यापक भएको छ, कि हामीलाई सही र गलत छुट्टयाउन अत्यन्त कठिन पर्छ ।

यस्तो अवस्थामा प्रयोगकर्ता सचेत हुन नसक्दा कुनै स्वार्थ समूहको षडयन्त्र वा गलत समाचार (Conspiracy Theory and Fake News) को शिकार हुन गई समाजमा गलत कुरा र षडयन्त्रहरु स्थापित हुने र त्यस्ता समूहहरुको स्वार्थ सिद्ध हुने खतरा हुन्छ । त्यसैले वास्तवमा अहिलेको शक्तिशाली मानिस त्यो हो जसले असान्दर्भिक सूचनाहरुलाई बेवास्ता गरेर कसैको गलत स्वार्थसिद्धिको साधन वन्दैन र सही सूचनावाट सुसज्जित हुन्छ ।

२).तपाईले जे खोज्नुहुन्छ त्यही पाउनुहुन्छ

सामाजिक सञ्जालहरुमा प्रयोग हुने Artificial Intelligence, Machine Learning जस्ता अत्याधुनिक प्रविधिमार्फत हामीले ईन्टरनेटमा केके गतिविधि गर्छौ, कस्तो गीत, संगित हेर्छौ, कस्तो किताव पढछौँ, के सपिङ्ग गर्छौ आदि हाम्रा रुची तथा बानी व्यहोराको निगरानी भइरहेको हुन्छ र सामाजिक सञ्जालमा Algorithm मार्फत सोही अनुसारको सामग्री हामीले प्राप्त गर्ने गर्दछौं। त्यसैले यदि हामी ज्ञानगुनका सामग्रीमा रुची राख्छौं । व्यक्तित्व विकासमा रुची राख्छौं वा कस्तो सामग्रीमा रुची राख्छौं रोजाई हाम्रै हो । रुची बेकारको कुरामा राख्ने अनि सामाजिक सञ्जाल सबै विकृत नै हुन्छ भन्ने कुरा एकदमै गलत हो ।

३).व्यक्तिगत डाटाको असुरक्षाको खतरा

हामीले डिजिटल माध्यामबाट गर्ने हरेक गतिविधिहरुमा हाम्रो व्यक्तिगत डाटा साझा गरिरहेका हुन्छौं । हामीले हाम्रा महत्वपूर्ण तथा गोप्य तथ्यांकहरु प्रविष्टि गरिरहेका एप्लिकेसन वा वेभसाइट कति भरपर्दा छन भन्ने वुझेर मात्र त्यस्ता एपहरुमा साइन अप गर्नुपर्दछ । अहिले कम्पनिहरुका लागि वस्तु तथा सेवा विक्रीका लागि डिजिटल मार्केटिङ्ग सबैभन्दा प्रभावकारी औजार भएकाले हाम्रा गोप्य सूचनाहरु चुहावट भइ दुरुपयोग हुने र बेचिने खतरा हुन्छ ।

उदाहरणका लागि गुगलले हामीलाई नि:शुल्क जिमेल, स्टोरेज, स्प्रेडसिट लगायतका सुविधाहरु दिइराखेको हुन्छ । हामी त्यसमा मख्ख परेका छौं, तर हाम्रो व्यक्तिगत डाटा प्रयोग गरेर उसले कति आम्दानी गरेको होला भन्ने हेक्का गरेका हुँदैनौ । Whatsapp, Viber  को प्रयोगवाट सर्वसाधारणलाई प्रलोभनमा पारी व्यक्तिगत तथ्यांक चोरी गरी हुने विभिन्न खालका ठगीका घटनाहरु हामीले भोगिराखेका पनि छौं ।

४).सामाजिक रुपमा जिम्मेवार भइ सञ्जालको प्रयोग गर्नपर्ने

सामाजिक सञ्जालको प्रयोग गर्दा प्रचलित कानूनद्वारा अवैध, नग्नता, बालहिंसा, सामाजिक सद्भाव विथोल्ने, साम्प्रदायिक खलल पुर्‍याउने, धार्मिक सहिष्णुता विथोल्ने आदि सामग्रीहरु आयो भने जिम्मेवार नागरिकको रुपमा यस्तो कुराहरुलाई बढावा नदिइ सम्बन्धित सामाजिक सञ्जालमा अनुपयुक्त भनि Report गरिदिनुपर्छ । जसले गर्दा त्यस्ता नकारात्मक कुराहरु भाईरल हुन पाउँदैनन्। र त्यस्ता एकाउन्टहरु Block/Unfollow/Show Less गरिदिनुपर्छ जसले गर्दा त्यस्ता सामग्री भविष्यमा आफुलाई नदेखाओस र कुनै झन्झटमा पनि नपरियोस् ।

५).पहिचान खुल्ने व्यक्तिहरुसँग मात्र अन्तरक्रिया गर्ने

सामाजिक सञ्जालमा तपाई जोसँग कुरा गर्दै हुनुहुन्छ, त्यो मानिस साच्चिकैमा तपाईले सोचेको मानिस नहुनपनि सक्छ र कतिपय अवस्थामा तपाई जो सँग कुरा गर्दै हुनुहुन्छ त्यो मानिस नभई कुनै च्याटवट पनि हुन सक्छ । यसरी सही पहिचान लुकाएका मानिसहरु तपाईसँग सम्पर्कमा आई ठगी गर्ने, चरित्रहत्या गर्ने, विभिन्न समस्या देखाई पैसा माग्ने, भएको वार्तालाप तथा मिडियालाई दुरुपयोग गरी रकम माग गर्ने इत्यादि गरेर तपाईलाई आर्थिक तथा कानुनि झमेलामा पार्न सक्छन् ।

त्यसैले आफू शतप्रतिशत ढुक्क भएर मात्र आफ्नो व्यक्तिगत कुराकानी, फोटो भिडियो, गोप्य जानकारीहरु साझा गर्नुपर्छ । सामाजिक सञ्जाल पूर्ण रुपमा सुरक्षित नहुने भएकाले यसको माध्यामवाट आफ्नै मान्छेलाई पनि गोप्य तस्वीर भिडियो, पासवर्ड, एटिएम जस्ता कुराहरु आदान-प्रदान नगर्दा नै राम्रो हुन्छ ।

६).सामाजिक सञ्जालका आई. डि. पासवर्ड सुरक्षा तथा प्राइभेसी सेटअप पुनरावलोकन

आफूले प्रयोग गर्नै सामाजिक सञ्जालको आई.डि. पासवर्डहरु कम्प्युटर तथा मोवाइल डिभाईसहरुमा सेभ गरेर राख्नु हुँदैन यसले गर्दा त्यस्तो कम्प्युटर तथा मोवाइल हराएमा तपाईको आई. डि.ह्याक भइ दुरुपयोग हुने खतरा हुन्छ । सकेसम्म पासवर्डहरु कतै नलेखी सम्झिने बानी गर्नुपर्दछ । सम्बन्धित सामाजिक सञ्जालको प्राइभेसी सेटिङ्गमा गई आवश्यकता तथा प्राथमिकता अनुसारका गोप्यता सम्वन्धी सेटिङ्ग गर्नुपर्दछ र पासवर्डहरु समय समयमा परिवर्तन गरिराख्नुपर्दछ ।

७).सामाजिक सञ्जालको न्यूनतम प्रयोग गर्ने

सामाजिक सञ्जालको अत्याधिक प्रयोगले व्यक्तिमा ध्यान केन्द्रीत नहुने, उत्पादकत्व घट्ने, चिन्ता बढ्ने, सामाजिक सम्बन्धहरु चिसिने, समय व्यवस्थापन गर्न गाह्रो हुने, मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने जस्ता गम्भीर समस्याहरु आउनसक्ने भएकाले हामीले हाम्रो जीवनको लक्ष्य तथा उद्देश्यसँग मेल खाने गरी, व्यक्तिगत तथा सामाजिक जीवनमा खलवल नआउने गरी, आफ्नो आवश्यकता तथा प्राथमिकताका आधारमा उपयुक्त सञ्जाल छनोट गरी आफ्नो अमुल्य समय सामाजिक सञ्जालमा खर्च गर्नुपर्दछ ।

(ढकाल जाल्पा सामुदायिक लघुवित्तका प्रमुख प्रबन्धक(मानव संसाधन) हुनुहुन्छ ।)