
बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने बताएका छन्। उनले एकल दरमै बैंकको व्याजदर कायम गराउने आश्वासन दिएका हुन्। नेपालमा अहिले अधिकांश वैंकहरूले दोहोरो अंकको ब्याजदर कायम गरेका छन्।
बुधबार आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश, विशेष प्रदेश र समन्वय प्रदेश समितिको बैठकलाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाएर जनतालाई राहत दिलाउने बताएका हुन्।
प्रचण्डले पछिल्लो दिन जग्गा कित्ताकाटले राजस्व बढाएको बताए। ‘रेमिट्यान्स राम्रैसँग भित्रिएको छ, ११ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्जिती छ,’ प्रचण्डले भने, ‘तैपनि अर्थतन्त्र अझै लयमा आइसकेको छैन।’ प्रधानमन्त्री दाहालले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं। तर, अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’
उनले सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव नहट्ने बताए । उनले थपे, ‘तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्छौं। मैले नै त्यसको अध्यक्षता गर्छु। उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउँछौं।’
बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको उनले बताए । उनले भने,‘परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न सक्दैन । नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ। लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ। तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ। पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि संसदभित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ। बजेट पनि प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ। यसपटक हामी बदल्छौं।




