July 11th, 2023

ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, एकैदिन प्रणालीमा थपियो २० अर्ब

बैंकिङ खबर/बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ। तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ। गत जेठमा बैंकहरुले आपसी सापटी कारोबारको ब्याजदर ५ प्रतिशतको हाराहारीमा पुगेको थियो। असार २४ गतेसम्म आइपुग्दा अन्तर बैंक ब्याजदर घटेर १.३६ प्रतिशत कायम भएको छ।

साथै पछिल्लो एक दिनमै बैंकिङ प्रणालीमा २० अर्ब निक्षेप थपिएको छ। २० अर्ब निक्षेप थपिएसँगै प्राणालीमा ५७ खर्ब १५ अर्ब निक्षेप पुगेको हो। २०८० असार २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५६ खर्ब ९५ अर्ब रहेको निक्षेप एकदिन २० अर्ब थपिएर ५७ खर्ब १५ अर्ब पुगेको छ। पछिल्लो समय निक्षेप निरन्तर बढ्दै जादा कर्जा प्रवाह भने ठप्प नै छ। निक्षेपमा सुधार हुँदै कर्जा ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.०३ प्रतिशतमा आइपुगेको छ।