
तिलक महरा
आर्थिक नीति (Economic Policy)
आर्थिक नीतिले समग्र अर्थतन्त्रलाई निश्चित आर्थिक आदर्शहरूसहित व्यवस्थापन र प्रभाव पार्न सरकारले चालेका उपाय र कार्यहरूको समग्र समुह अथवा सेटलाई जनाउँछ। आर्थिक नीति आर्थिक वृद्धि, स्थायित्व र विकासलाई प्रवर्द्धन गर्ने समग्र नीतिहरुको फराकिलो दायरासँग सम्बन्धित छ।
यसले मौद्रिक नीति, वित्त नीति, वित्तीय नीति, व्यापार नीति, औद्योगिक नीति, आय नीति, आदि जस्ता अर्थतन्त्रको सञ्चालनका समग्र पक्षहरूलाई समेट्ने गर्दछ। तसर्थ, आर्थिक नीतिले राष्ट्रव्यापी बृहत् आर्थिक समस्याहरू जस्तै, मुद्रास्फीति, बेरोजगारी, आर्थिक असमानता, आर्थिक प्रतिस्पर्धात्मकता, आर्थिक विकास, आदिलाई सम्बोधन गर्न आवश्यक पर्ने निर्णयहरू र रणनीतिहरू समावेश गर्दछ ।
वित्तीय नीति (Financial Policy)
वित्तीय नीति भनेको राष्ट्रको वित्तीय प्रणालीमा स्थायित्व, दक्षता र अखण्डता कायम राख्न वित्तीय संस्थाहरु र वित्तीय बजारको व्यवस्थापनमा केन्द्रित हुने कार्यहरु र नियमहरूको सेट अथवा समग्र रुप हो। वित्तीय नीतिले बैंक तथा वित्तीय संस्थाहरू र गैर-बैंक वित्तीय संस्थाहरू जस्ता वित्तीय संस्थाहरूको उचित कार्यसम्पादन सुनिश्चित गर्न नियमहरू र पर्यवेक्षण संयन्त्रहरूको निर्माण र स्थापना गर्ने समग्र विषयलाई समावेश गर्दछ।
यसबाहेक, यसले वित्तीय क्षेत्रमा निहित जोखिमहरू व्यवस्थापन गर्न, वित्तीय संकटहरू रोक्न र वित्तीय प्रणालीप्रति उपभोक्ताहरूको विश्वासको रक्षा गर्ने उपायहरू पनि समेट्छ।
वित्तीय स्थायित्व कायम गर्न वित्तिय संस्था तथा समग्र वित्तिय प्रणालीको लागि विभिन्न नियमहरूको तर्जुमा र कार्यान्वयन जस्तै उच्च पूँजी आवश्यकताहरू व्यवस्था, नियमित स्ट्रेस टेस्टिङ्ग सञ्चालन, बैंकहरूको कर्जाको वर्गीकरण तथा व्यवस्थापन, बलियो जोखिम व्यवस्थापन अभ्यासहरू कार्यान्वयन गर्ने आदि वित्तीय नीतिका उदाहरण हुन्। त्यसकारण, वित्तीय नीति राष्ट्रको समग्र वित्तीय प्रणालीको व्यवस्थापनसँग सम्बन्धित नीति हो।
वित्त नीति (Fiscal Policy)
वित्त नीतिले राष्ट्रको समग्र अर्थतन्त्रलाई हेरफेर गर्न वा प्रभाव पार्न करको दायरा तथा दर र सरकारी खर्च परिवर्तन गर्ने सरकारको प्रयत्नलाई जनाउँछ। यस नीतिले अपेक्षित आर्थिक वृद्धि र विस्तार हासिल गर्ने उद्देश्यका साथ सरकारी राजस्व र व्यय सम्बन्धी सरकारले गर्ने निर्णयहरू समावेश गर्दछ।
मुख्यतया वित्त नीति सार्वजनिक स्रोतको व्यवस्थापन र सोको प्रभावकारी वितरण सुनिश्चित गरी इच्छित आर्थिक नतिजाहरू प्राप्त गर्नको लागि सरकारले सम्पन्न गर्ने वार्षिक कार्यसँग सम्बन्धित छ ।
आर्थिक संकुचनको समयमा प्रोत्साहन प्याकेज घोषणा गर्ने र कार्यान्वयन गर्ने जस्ता विभिन्न गतिविधिहरू, कर कटौती, सरकारी खर्चको मात्रा र संरचनामा परिवर्तन, विशिष्ट क्षेत्रहरू र अर्थतन्त्रका कारकहरूलाई सहयोग गर्न अनुदान प्रदान गर्ने आदि वित्त नीतिका नीतिगत कार्यहरु हुन्।
अन्त्यमा कुनै पनि अर्थतन्त्रको व्यवस्थित संचालन, व्यवस्थापन, विकास र स्थायित्वको निम्ति सबै नीतिहरु महत्वपूर्ण रहन्छन् । आर्थिक नीतिले सम्पूर्ण अर्थतन्त्रलाई व्यवस्थित गर्न आवश्यक नीति र कार्यहरूको विस्तृत दायरालाई समेट्छ ।
वित्तीय नीतिले राष्ट्रको वित्तीय प्रणालीको नियमन, व्यवस्थापन र स्थिरतालाई चाहिने विषयबारे विचार गर्दछ र वित्त नीतिले अर्थतन्त्रलाई प्रभाव पार्नको लागि कर र सरकारी खर्चसँग सम्बन्धित गतिविधिहरु समेट्दछ। यी नीतिहरू व्यवहारमा एकअर्काका पूरक हुने गर्दछन।



