Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुर: अधिकांश घटना काठमाडौंमा, एक महिनामा ५ सय ४० उजुरी

२०७९ पुष ७ गते

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय बैंकिङ कसुरका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकामै यस्ता घटनाहरु घट्ने गरेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५ सय ४० वटा बैंकिङ कसुरका घटना घटेका छन् । जसमा सबैभन्दा बढी काठमाडौंमै रहेका छन् । काठमाडौंमा ४ सय ९१ बैंकिङ कसुरका घटना छन् भने ललितपुरमा २४ र भक्तपुरमा २५ बैंकिङ कसुरका घटना घटेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सिताराम रिजाल काठमाडौं उपत्यकामा पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको बताउँछन् ।

९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र हाजिर हुन उच्चको आदेश

बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । अदालतको आदेशअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २३ बमोजिम पहिलो पटक उनीहरु को नाममा तीन दिने सूचना प्रकाशन भएको हो । बयानका लागि बोलाइएको म्यादभित्र हाजिर नभई गुजारी बसेमा कानुन बमोजिम हुने अदालतले जनाएको छ ।

चेक बाउन्सले बढायो बैंकिङ कसुर

नेपाल प्रहरीकै तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । जुन आर्थिक वर्ष ०७७/७८ मा आठ सय ८० वटा मात्र बैकिङ कसुरका घटना दर्ता भएका थिए ।

पछिल्लो समय चेक बाउन्सले नै बैंकिङ कसुरका घटना बढाएको पाइएको छ । पछिल्लो समय चेक काउन्सकै कारण पक्राउ पर्ने क्रम बढ्दो रहेको छ । गत आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भए । त्यसमध्ये करिब पाँच हजार तीन सय चेक बाउन्ससँग सम्बन्धित रहेको प्रहरी आँकलन छ ।

प्रस्ट कानुन नभएकाले विगतमा चेक बाउन्सका थोरै मात्र घटनामा प्रहरीले बैंकिङ कसुर अपराधमा अनुसन्धान गर्दथ्यो । तर, पछिल्ला वर्ष चेक बाउन्स प्रहरी कार्यालयमा सर्वाधिक उजुरी पर्ने मुद्दा बन्न पुगेको छ । धेरैजसो देवानी प्रकृतिको लेनदेनसँग सम्बन्धित हुने भए पनि प्रहरीमार्फत जाँदा प्रभावकारी हुने भएकाले धेरै सर्वसाधारण बैंकिङ कसुरअन्तर्गत उजुरी गर्दछन् । यस्तो अपराधमा पीडित सीधै चेक अनादरको कसुरमा अदालत पुग्न सक्ने प्रावधान पनि छ ।

सीआईवीका प्रवक्ता एवं सूचना अधिकारी श्याम कुमार महतो चेक बाउन्सका घटनाले नै पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको बताउनुहुन्छ । बैंकिङ खबरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘पछिल्लो समय समग्रमा फाइनान्सियल क्राइमहरु बढेको देखिन्छ । बैंकिङ कसूरको घटना बढेको छ, चेक बाउन्सको केशले अझ बढाएको छ ।’

बैंकिङ कसूरको घटना ३ वर्ष पहिलाको र अहिलेको संख्या हेर्ने हो भने दोव्वर बढेको उहाँ बताउनुहुन्छ । १० वर्ष पहिला बैंकिङ कसूरको घटना १० प्रतिशत मात्र हुन्थ्यो भने अहिले ठ्याक्कै उल्टो छ ।

अब फाइनान्सियल क्राइमको घटना बढ्छ त्यहाँ चेक बाउन्स घटना बढी छ । उहाँ भन्नुहुन्छ, ‘हामीले चेक बाउन्सको फैसला कार्यान्वयन मात्र हेर्ने हो । सीआईबीमा भएको आठ ओटा पिल्लरमध्ये एउटा डेडीकेटेड पिलर छ । त्यस पिल्लरको काम भनेको फरार भएका अपराधीहरुलाई अदालतमा लगेर बुझाउने काम हो ।’

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय

चेक बाउन्सको मुद्दा बैंकिङ कसुरअन्तर्गत नपर्ने भनी तीन वर्षपहिले गरेको फैसलालाई सर्वोच्च अदालतको पूर्ण इजलासले ‘सच्याएको’ छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासले ०७६ असार ९ मा न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले गरेको फैसलालाई पुनरावलोकनमार्फत परिवर्तन गरेको हो ।

शाही र रेग्मीको संयुक्त इजलासले चेक बाउन्स हुनुलाई मात्रै बैंकिङ कसुर नमानिने, खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि चेक काटी भुक्तानी लिने–दिने कार्य सम्पन्न भएमात्रै बैंकिङ कसुर हुने फैसला गरेको थियो । बैंकिङ कसुरसम्बन्धी प्रचलित कानुनविपरीत हुने यस्तो फैसलालाई सर्वोच्च अदालतले तीन वर्षपछि सच्याएको हो ।