Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बिग मर्जरः ग्लोबल आइएमई बैंक र बीओकेबीच अन्तिम समझदारीपत्रमा हस्ताक्षर

२०७९ कार्तिक २८ गते

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच मर्जरका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्ब र कुल कर्जा रु. ३७९ अर्बभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बीओकेमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। यसका साथै दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् ।

दुई बैंकहरुको मर्जरपश्चात कुल ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बीओके मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।