२०७९ भाद्र १ गते

अर्थतन्त्रमा सुधारको संकेत

बैंकिङ खबर/ अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा दबाबै देखिएको भएपनि पछिल्ला एक, दुई महिनामा भने अर्थतन्त्र सुधार देखिएको हो ।

अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र सुधारको गतिमा देखिएको हो ।

गत वर्षको सुरुवातीमा बाह्य क्षेत्रमा ठूलो दबाब देखिएको थियो । विदेशी मुद्राको सञ्चितिमा ठूलो संकुचन थियो भने रेमिट्यान्समा पनि कमि आएको थियो । शोधान्तर स्थिति पनि ठूलो घाटामा थियो । तर, त्यो अवस्था अहिले कम हुँदै गएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा मूल्यवृद्धि बढेको भएपनि गत महिनाको तुलनामा भने घटेको छ ।

२०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो ।

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८-७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८-७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2078.79-1