August 15th, 2022

नेपालमा गरिबी घटाउन लघुवित्तको महत्वपूर्ण भूमिका : पूर्व गभर्नर क्षेत्री

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले लघुवित्तको मूल लक्ष्य गरिबी निवारण गर्ने रहेको बताउँदै लघुवित्तको कारण नेपालमा गरिबी घटाउन धेरै सहयोग पुगेको बताउनुभएको छ ।

स्वावलम्बन विकास केन्द्रको ३१औँ वार्षिकोत्सवका अवसरमा पूर्व गभर्नर क्षेत्रीले गरिबी निवारणलाई सबै लघुवित्त संस्थाहरूले साझा अभियानको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

‘नेपालमा गरिबी मागी खाने भाँडोको रुपमा प्रयोग हुँदै आएको छ । गरिबीको नाममा आफू कसरी आर्थिक रुपमा सबल हुने भन्ने तर्फ सबै क्षेत्र केन्द्रित भएको छ’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वबाट गरीबीको नाममा अरु देश सँग असमान सन्धि सम्झौताहरू समेत हुँदै आएका छन् । यो मानसिकताबाट अघि नबढ्ने हो भने देशको भविष्य अन्यौल हुन जान्छ । गरीबी निवारण विरुद्ध सही योजना अघि सारेर आ–आफ्नो क्षेत्रबाट अघि वढ्नु जरुरी छ । लघुवित्तहरूले पनि यो विषयलाई साझा समस्याको रुपमालिएर निकास खोज्नु उपयुक्त हुन्छ ।’

साथै क्षेत्रीले स्वावलम्बन विकास केन्द्रको नेतृत्व शुरु देखिनै इमानदार र दृढ भएर समाज परिवर्तनमा लागेको उल्लेख गर्दै अगाडि भन्नु भयो ‘उहाँहरूले शुरु देखि गरेको प्रयासले अहिले समाज धेरै अघि बढेको छ । धेरै भन्दा धेरै परिवारहरू आर्थिक रूपले सबल र सक्षम भएका छन् । अरुको मुख हेरेर बस्नु पर्ने परिस्थिति आएको छैन । छोराछारीलाई राम्रो शिक्षा दिएर देशको लागि केही गर्न सक्ने बनाएका छन् । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुहोस् ।’

सो अवसरमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्य विवरण प्रतिवेदन पनि विमोचन गरिएको छ । समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री र समारोहका सभापति तथा केन्द्रका प्रबन्ध समिति अध्यक्ष शंकर मान श्रेष्ठले संयुक्त रुपमा उक्त प्रतिवेदन विमोचन गर्नुभएको हो ।

समारोहका सभापति तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त क्षेत्रले शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जनमा लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाहरू लाग्नुपर्ने बेला भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा उहाँले स्वावलम्बन विकास केन्द्रको ३१ वर्षे यात्रा सम्झदै शुरुको दिनमा जुम्ला, कालिकोट लगायत कर्णाली प्रदेशको विकट क्षेत्रबाट शुरु गरेको स्वावलम्बन बैकिङ कार्यक्रम र पूर्वी नेपालको तराई क्षेत्रबाट लघुवित्त कार्यक्रम शुरु गर्दाको स्मरण पनि गराउनुभयो । ‘स्वावलम्बन विकास केन्द्रका शुरुवाती दिनहरु निकै रोमान्चित रहे । हामीले ३० बर्ष अघि जुम्लामा सहभागितामुलक लेखाजोखा अवधारणा प्रयोग गरी जनचेतना वाँड्ने कामबाट शुरुवात गरेका थियौँ । जुन उ वेलाको समाजमा निकै जरुरी थियो । स्वावलम्बन बैंकिङ कार्यक्रम शुरु गर्दा पनि सहभागीता मुलक ग्रामीण लेखाजोखा विधि प्रयोग भयो । पूर्व समूह तालिम गर्दा पनि यो विधि प्रयोग गर्यौँ । गाउँलेहरु आफैले साँच्चिकै गरिब छाने र दुई बर्षको अवधिमा जुम्लामा ठूलो परिवर्तन देखियो । यो देखेर नै मैले लघुवित्तले समाज परिवर्तन गर्न सक्छ भन्ने विश्वास लिएको थिए । पूर्वी तराईबाट लघुवित्त शुरु गर्दाको यात्रा पनि रोमान्चित रह्यो । छोटो समयमा निकै ठुलो परिवर्तन ल्याउन सफल भइयो । त्यो वेला १५ सय रुपैया तलबमा काम गर्ने लघुवित्तका कर्मचारीहरुमा लाखौँको ऊर्जा हुन्थ्यो । अहिले लाखौँ तलव खाने कर्मचारीमा पनि त्यो ऊर्जा छैन् । लघुवित्तहरु मर्म र सिद्धान्त छाडेर मुनाफा केन्द्रित हुँदै गए । जो पायो त्यहिलाई ऋण दिन थाले र सदस्यको क्षमता भन्दा धेरै ऋण दिन थाले । जसको कारण लघुवित्तमा अहिले केही संकट आएको छ । तर अझै पनि चिन्तित हुनुपर्ने अवस्था छैन । हामी सुध्रिनु निकै जरुरी छ । सिइओहरुले चाहेको खण्डमा २ बर्षमा लघुवित्तको रुप फेर्न सकिन्छ । स्वच्छ भएर काम गर्नुहोस् कुनै ताकतले पनि लघुवित्तलाई समस्यामा पार्न सक्दैन’ उहाँले भन्नुभयो ।

साथै श्रेष्ठले स्वावलम्बन विकास केन्द्रको ३१औँ वार्षिकोत्सवको अवसरमा केन्द्रलाई विभिन्न समयमा विभिन्न तरिकाले सहयोग र साथदिने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा नेपाल लघुवित्त बैङ्कर्स संघका अध्यक्ष प्रकाश राज शर्माले अहिले लघुवित्त क्षेत्रले करिव ५८ लाख सदस्यहरूमा ३७० अर्ब ऋण प्रवाह गर्न सफल भएको र जसमध्ये ८२ प्रतिशत बिना धितो ऋण प्रवाह भएको तथ्य प्रस्तुत गर्नुभयो । साथै यो सफलताको पछाडि स्वावलम्बन विकास केन्द्र र अध्यक्ष शंकर मान श्रेष्ठको ठूलो भूमिका रहेको र आगामी दिनमा पनि लघुवित्तको विकास र लघुवित्त मार्फत विपन्न बर्गको उत्थानकोलागि केन्द्रको भूमिका अझ प्रभावकारी हुँदै जाने विश्वास रहेको बताउनुभयो ।

सो अवसरमा स्वावलम्बन विकास केन्द्रका कोषाध्यक्ष शोभा वज्राचार्य, केन्द्रका संस्थापक सदस्य द्वय गणेशराम श्रेष्ठ र लुमिन कुमार श्रेष्ठले पनि केन्द्रको विगत सम्झदै यात्राको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

वार्षिकोत्सव समारोहमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, केन्द्रका व्यक्तिगत सदस्य र संस्थापक सदस्यका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका ६० जना शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]