रुपा कोइराला – नेपालमा बीमाको इतिहास दशकौँ पुरानो भइसकेको छ । यद्यपि बीमा गर्नेको संख्या र यसको पहुँच विस्तारको अवस्था अझै पनि दयनिय रहेको छ । हालसम्म नेपालको कुल जनसंख्याको ७ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको तथ्यांक छ ।
नेपालमा वि.सं. २००४ सालभन्दा पहिले नेपाली बीमा कम्पनीहरु थिएनन् । भारतीय बीमा कम्पनीहरुले नै नेपालमा सेवा पुर्याइरहेका थिए । वि.सं. १९९४ सालमा नेपाल बैंकको स्थापना भएपश्चात् वि.सं. २००४ सालमा नेपाल बैंकले नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी स्थापना गरेको थियो । सुरुमा यसले नेपालको बीमा व्यवसाय र ट्रान्सपोर्टको काम गरेको थियो जुन कम्पनी हाल निर्जीवन बीमाको काम नेपाल इन्स्योरेन्स कम्पनी लि.को नामले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ र यो नै नेपालको पहिलो बीमा कम्पनी हो । त्यसपछिका दिनहरुमा नेपालमा बीमाको क्षेत्र फराकिलो बन्दै गइरहेको छ । नेपालमा हाल २६ वटा बीमा कम्पनीहरु छन् । जसमध्ये नौवटा जीवन बीमा कम्पनी र १७ वटा निर्जिबन बीमा कम्पनी रहेका छन् । यसबाहेक, वि.सं. २०७१ सालमा नेपालको आकस्मिक बीमा कोषलाई नेपाल सरकारको र नेपालका निर्जीवन बीमा कम्पनीहरुको सहभागितामा दुई अर्ब १० करोडको चुक्तापुँजीमा पुनर्बीमा कम्पनीसमेत स्थापना भइसकेको छ ।
बीमा क्षेत्रको यति लामो इतिहासमा बीमाको संख्यात्मक विकास भएपनि गुणत्मक विकास भने हुन सकेको पाइँदैन । बिशेषतः बिमकहरु सहर तथा सुगमकेन्द्रित हुँदा ग्रामीण तथा दुर्गम भेगका जनताले चाहेर पनि बीमाको सुविधा प्राप्त गर्न सकेका छैनन् । कतिपयलाई त बीमा के हो र यो किन गर्ने भन्ने कुराको सामान्य जानकारी समेत छैन । यसका लागि बीमा कम्पनी, बीमा समिति तथा अन्य सम्बन्धि निकायहरुले बीमा चेतनासम्बन्धि कार्यक्रमहरुलाई गाउँगाउँसम्म पुग्ने गरी तीव्र गतिमा अघि बढाउनुपर्ने देखिन्छ ।
वस्तु तथा सेवाहरु नयाँ ढंगले आईरहेका छन् । यस्तो अवस्थामा मानिसहरुमा चेतनाको कमी हुनु, बीमा कम्पनीहरुलाई गलत तरिकाले विश्लेषण गरिनु, बिमक स्वयम् जानकार नहुनु, तथा ईन्स्योरेन्स कम्पनि आफैंले बनाएका ‘पोलिसी’ त्यो तहसम्म लैजान असक्षम हुनु जस्ता विविध कारणले गर्दा नेपालमा बीमा गर्ने परिपाटि अझै बढ्न नसकेको बिमकहरु बताउँछन् । २० वर्षपहिले हातले लेखेर ‘पोलिसी’ ‘ईस्यू’ गर्ने अवस्थाबाट कम्युटरले ‘अप्रेट’ गर्ने प्रविधिसम्म आईपुग्दा समेत आम मानिसले बीमाको महत्वबारे नबुझ्दा आजसम्म पनि बीमा दायरामा आउने नेपालीहरुको संख्या अत्यन्तै न्युन रहेको उनीहरुको ठहर छ ।
